काठमाडौं – जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडामा भीषण आगलागी हुँदा करिब ६० वटा भेडा जलेर नष्ट भएका छन्। काले रानाको भेडा गोठमा मिति २०८१ माघ २३ गते राति अचानक आगलागी भएको हो।
वडा-१० का वडाध्यक्ष मुन वहादुर थापा मुनालका अनुसार आगलागीबाट स्थानीय किसान ठूलो संकटमा परेका छन्। “कृषि तथा पशुपालनमा निर्भर स्थानीयको लागि यो ठूलो क्षति हो। पीडित परिवारलाई आवश्यक सहयोगका लागि पहल गरिनेछ,” वडाध्यक्ष मुनालले बताए।
तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। “आगलागीको कारण पत्ता लगाउन र राहतको व्यवस्था गर्न नगरपालिकाले आवश्यक पहल गर्नेछ,” उप–प्रमुख शाहीले भने।
स्थानीयबासीका अनुसार रातको समयमा आगलागी फैलिँदा गोठमा रहेका भेडा बचाउन कुनै उपाय नहुँदा ठूलो क्षति भएको हो। घटनास्थलमा प्रहरी र स्थानीय जनप्रतिनिधि पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन्। पीडित काले रानाले सम्पूर्ण जीविकोपार्जनको साधन गुमाएको भन्दै राहतको माग गरेका छन्