काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने पात्र नै नभएको दाबी गरेका छन्। आइतबार बागमती प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले पूर्वराजाको व्यवहार, सोच र प्रवृत्तिले उनी संवैधानिक भूमिकामा कहिल्यै पनि सुहाउने खालको व्यक्ति नभएको स्पष्ट पारे।
“उहाँको टेम्परामेन्ट नै संवैधानिक राजा हुनेजस्तो छैन,” देउवाले कटाक्ष गर्दै भने, “यदि उहाँलाई राजनीतिमा आउनै मन छ भने पार्टी खोल्नुस्, नेताको रूपमा प्रतिस्पर्धा गर्नुस्, जनता रोजे भने राजनेता बन्नुस्।”
पूर्वराजालाई साथ दिइरहेको राप्रपालाई पनि सचेत गराउँदै देउवाले भने, “अहिले उहाँलाई बोकेर हिँडिरहे पनि पछि पछुताउनु पर्नेछ। बरु राप्रपाले उहाँलाई पार्टी सभापति नै बनाए भइहाल्यो।”
पूर्वराजतन्त्रको पक्षमा उठेका आवाज र सक्रियतामाथि पुनः प्रश्न उठाउँदै देउवाले स्पष्ट पारे—राजा फर्काउने सपना देख्नु लोकतन्त्रविरोधी सोचको प्रतिबिम्ब हो, जुन नेपाली जनताले स्वीकार गर्दैनन्।