काठमाडाैँ – फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले जानकारी दिएका छन् ।

छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्षीया लालीमा राम,७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए ।

केही समयपछि तीनै जना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रेपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिए ।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताए । घटना बारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।