- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम प्रस्तावअनुसार सोमबार दिउँसो हमासले जीवित सबै २० बन्धकलाई रिहा गरेको छ, पहिलो चरणमा ७ र त्यसपछि १३ जनालाई छोडिएको हो, ट्रम्पले तीन चरणमा इजरायली सैनिक गाजाबाट फिर्ता हुने गरी शान्ति सम्झौता गराएका छन्
What you should know :
- इजरायल–हमास द्वन्द्व दुई वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम र शान्ति सम्झौतासम्म पुगेको छ।
- ट्रम्पको पहलमा बन्धकहरूको रिहाइ, कैदीहरूको अदलाबदली र गाजाबाट इजरायली सेनाको फिर्ता प्रक्रिया सुरु भएको छ।
- यद्यपि गाजामा स्थायी शान्तिका लागि हमासको निःशस्त्रीकरण र अन्य सर्तहरूमा अझै चुनौती बाँकी रहेको विश्लेषकहरूले बताएका छन्।
काठमाडौँ —७ अक्टोबर २०२३ मा प्यालेस्टिनी विद्रोही संगठन हमासले इजरायलमा हमला गरेपछि सुरु भएको इजरायल–हमास द्वन्द्व दुई वर्षपछि करिब–करिब अन्त्य हुने अवस्थामा पुगेको छ । आक्रमणको शृंखला पुनः सुरु भएन भने यतिका लामो समयसम्म द्वन्द्वको चपेटामा रहेका गाजावासीले अब खुला आकाशमुनि स्वतन्त्रताको श्वास फेर्न पाउनेछन् । इजरायल–हमास युद्धविरामको मियो बनेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनकै प्रयासमा २१ औं शताब्दीको यो नृशंस हत्याको शृंखला हाललाई रोकिएको हो ।
ट्रम्पको योजनाअनुसार भएको शान्ति सम्झौताअन्तर्गत सोमबार दिउँसो हमासले जीवित सबै २० बन्धकलाई रिहा गर्यो । पहिलो चरणमा ७ र त्यसपछि १३ जनालाई छोडिएको थियो । हमासले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका माध्यमबाट इजरायली सेनालाई ती बन्धकहरूलाई सुम्पिएको थियो । दुई वर्ष लामो समयपछि बन्धकहरूको परिवारसँगको मिलन निकै मर्मस्पर्शी बनेको थियो । अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक छैनन् । नेपालका विपिन जोशी जिउँदो रहेको भनिएकामा हमासले मृत्यु भइसकेको पुष्टि गर्दै उनको शव इजरायल सरकारलाई बुझाएको छ ।
हमासको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता इजरायलले गरेको सैन्य कारबाहीमा करिब ६७ हजार प्यालेस्टिनी मारिएको हमासको स्वास्थ्य मन्त्रालयको दाबी छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासले सोमबार बेलुका चार जनाको शव बुझाउँदा विपिन जोशीको शव पनि थियो ।
अन्य शवहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेजको हो । तर उनीहरूको शव पहिचान प्रक्रिया गर्न भने दुई दिनसम्म लाग्न सक्ने बताइएको छ । यता इजरायलसँग रहेका प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । इजरायल शान्ति सम्झौताअन्तर्गत १ हजार ९ सयभन्दा बढी कैदी वेस्ट बैंक र गाजामा पुगिसकेका छन्
अब मध्यपूर्वमा स्थायी शान्तिको अपेक्ष
दुई वर्षको आततायी युद्धका क्रममा इजरायलका १ हजार २ सय बढी र गाजाका ६० हजार बढीले ज्यान गुमाए । लाखौं प्यालेस्टिनीहरू घरबारविहीन हुन पुगे । युद्धविरामपछि हजारौं प्यालेस्टिनी खण्डहर बनेको सहरलाई फेरि उठाउने लक्ष्यका साथ आफ्नो थातथलोमा फर्किएका छन् । यसका लागि मियो बने, अमेरिकी राष्ट्रपति ट्रम्प । लामो दबाबपछि उनकै कारण त्यहाँ शान्तिको पहिलो चरण आरम्भ भयो । सोमबार ट्रम्प आफैं इजरायल पुगे । उनले इजरायलको संसद्मा करिब ६५ मिनेट सम्बोधन गरे ।
सम्बोधनका क्रममा उनले अब मध्यपूर्वमा स्थायी शान्ति आउने उद्घोष गरे । यतिका समयसम्म अरब देशहरूले प्रयास जारी राखे पनि प्यालेस्टाइनका नागरिकमाथि बम बर्सिने क्रम रोकिएको थिएन । तर ट्रम्पकै लगाव र मध्यस्थताका कारण त्यहाँका नागरिकहरू अब भने इजरायली सेनाको गोलीको सिकार हुनुपर्ने छैन भन्ने अपेक्षामा छन् । विश्वका कैयौं देशका नेताहरूले बन्धक रिहाइको स्वागत गरेका छन् । यो अवस्थासम्म आइपुग्न ट्रम्पले खेलेको ऐतिहासिक भूमिकाको स्वागत गर्दै प्रशंसासमेत गरेका छन् ।
यता मिश्रको सरकारी समाचार पत्र अल अहरामका अनुसार गाजामा भविष्यमा हुने शान्ति सम्मेलनका लागि कतार, जोर्डन, प्यालेस्टिनी अथोरिटी, फ्रान्स, जर्मनी र इन्डोनेसियाका नेता मिश्रको शर्म अल शेख पुगिसकेका छन् । यसको अध्यक्षता मिश्रका राष्ट्रपति अब्दुल फतह अल–सीसी र अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नेछन् । अल अहरामले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान पनि आएको बताएको छ । यस्तै अल जजिराका अनुसार गाजा सम्झौताअन्तर्गत रिहा गरिएका १ सय ५४ प्यालेस्टिनी बन्दीलाई मिश्र पठाइएको छ ।
नेतान्याहुलाई माफी दिन अपिल
ट्रम्पले इजरायली संसद्मा सम्बोधन गर्ने क्रममा इजरायली राष्ट्रपति इसाक हर्जोगसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भ्रष्टाचारको आरोपमा माफी दिन अपिलसमेत गरेका छन् । ट्रम्पको यो अपिललाई लिएर प्रधानमन्त्री र उनका संसदीय सहयोगीहरूले स्वागत गरेका छन् । संसद्मा नारा लगाउँदै तालीसमेत बजाएका थिए । ट्रम्प मिश्रको रिसोर्ट सहर शर्म अल शेख पुगिसकेका छन् । उनले त्यहाँ शान्ति सम्झौताको समारोहमा अध्यक्षता गर्नेछन् । जहाँ २० देशका नेताहरू सहभागी हुनेछन् ।
ट्रम्पले आफ्नो सम्बोधनका क्रममा भने, ‘हामी एक यस्तो विरासत बनाउनेछौं, जसलाई लिएर यस क्षेत्रका सबै नागरिकले गर्व गर्नेछन् । हामी एक राम्रो भविष्य बनाउनेछौं ।’ उनले तेल अविवबाट दुबई, हाइफबाट बेरुत, जेरुसेलमबाट दमास्कस र इजरायलबाट मिश्र, साउदी अरेबिया, कतार, भारत, पाकिस्तान, इन्डोनेसिया, इराक, सिरिया, बहराइन, टर्किए, जोर्डन, यूएई, ओमान, अर्मेनिया र अजरबैजानजस्ता देशबीच मित्रवत् र व्यापार बढाउने कुरा गरेका छन् ।
यस्तै ट्रम्पले नेतान्याहुलाई देशभक्त र साहसी नेता भएको बताए । नेतान्याहुको सहयोगबिना अहिलेको अवस्था सम्भव नभएको उनको भनाइ थियो । उनले आफ्नो भाषणका क्रममा गाजामा बन्धक सम्झौताका लागि हमासलाई दबाब बढाएर सहयोग गरेकामा अरब देश र मुस्लिम नेताहरूको पनि प्रशंसा गरे । उनले भने, ‘हामीलाई धेरैले सहयोग गरे । केही यस्ता व्यक्तिहरू पनि थिए, जसका बारेमा हामी सोच्न पनि सक्दैनौं । म उनीहरू सबैलाई आभार व्यक्त गर्दछु ।’ उनले इजरायल र विश्वका लागि यो ठूलो जित भएको बताएका छन् । मध्य पूर्वका लागि शान्तिको ऐतिहासिक नयाँ बिहानी भएको ट्रम्पले उद्घोष गरे ।
नोबेल शान्ति पुरस्कारका लागि समर्थन
इजरायलले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको समर्थन गरेको छ । संसद् अध्यक्ष अमिर ओहानाले पनि यस पुरस्कारका लागि ट्रम्पभन्दा योग्य व्यक्ति अरू कोही नभएको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै यो दिन इतिहासमा सधैं याद राखिने बताएका छन् । ‘हामीले लामो समयदेखि यो दिन पर्खिरहेका थियौं । म पूरै देशवासीका तर्फबाट तपाईंलाई आभार व्यक्त गर्दछु ।’
इजरायलले ट्रम्पलाई सदनमा सम्मान पनि गरेको छ । ट्रम्पले रिहा भएका इजरायली बन्धकका परिवारसँग पनि भेट गरेका छन् । उनलाई इजरायलको सर्वोच्च नागरिकको सम्मान दिइएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगले यसको घोषणा गरे । ट्रम्पभन्दा पहिले यस्तो सम्मान तीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन (२०१३), बाराक ओबामा (२०१३) र जो बाइडेन (२०२२) लाई दिइएको थियो ।
तीन चरणमा सैनिक फिर्ता
शान्ति सम्झौताअन्तर्गत अहिले गाजाबाट इजरायली सैनिक सीमासम्म फिर्ता भएका छन् । तर अहिले पनि ५३ प्रतिशत क्षेत्रमा इजरायली सेनाको नियन्त्रण रहेको जनाउने गरी गत साता ह्वाइट हाउसले एक नक्सा प्रकाशित गरेको थियो । त्यसअनुसार इजरायली सेनाको फिर्ता प्रक्रिया तीन चरणमा हुनेछ । ट्रम्पको शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाको रेखदेखमा करिब २ सय सैनिकको एक बहुराष्ट्रिय बलले युद्धविरामको निगरानी गर्नेछ । यस बलमा मिश्र, कतार, टर्की र यूएईका सैनिक पनि सहभागी छन् ।
स्थायी शान्तिका लागि यस्ता छन् चुनौती
योजनाअनुसार सबै बुँदाहरूमा दुवै पक्ष बिनासर्त सहमत भए भने गाजामा स्थायी शान्तिका लागि कुनै समस्या हुने छैन । तर केही सर्तहरूमा अझै पनि शंका छ । सोमबार नै हमासले त्यहाँको एक सशस्त्र समूहसँगको दोहोरो गोली हानाहानमा २७ जना मारिएका छन् । गाजाका बासिन्दाका लागि इजरायली सेना मात्रै त्रासको माध्यम थिएन । हमासको कट्टपन्ता पनि उनीहरूका लागि उत्तिकै चुनौतीपूर्ण छ । हमासले यसअघि नै इजरायली पक्षधरहरूको सफाया गर्ने घोषणा गरिसकेको छ । सोही कारण तत्कालै गाजामा पूर्ण रूपमा शान्ति कायम हुन्छ भन्नेमा अझै शंका छ
योजनाअनुसार गाजालाई विसैन्यीकरण गरिनेछ । गाजामा सुरुमा प्यालेस्टिनी टेक्नोक्रेट्सको एक अस्थायी समितिले चलाउने र यसको रेखदेख ‘पिस बोर्ड’ ले गर्ने उल्लेख छ । यसको अध्यक्ष ट्रम्प आफैं हुनेछन् भने यसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि सहभागी हुनेछन् । सुधार भएपछि गाजाको शासन प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिनेछ । पहिलेदेखि नै यसले वेस्ट बैंकमा प्रशासन चलाइरहेको छ । योजनाअनुसार २००७ देखि गाजामा शासन गरिरहेको हमासको भविष्यमा कुनै प्रकारले भूमिका हुने छैन ।
यदि हमासका सदस्यहरू शान्तिपूर्ण सहअस्तित्वका लागि प्रतिबद्ध रहे भने उनीहरूलाई माफी दिइनेछ । उनीहरूलाई अरू देशमा पनि सुरक्षित रूपमा जानका लागि अनुमति दिइने सम्झौतामा उल्लेख छ । र, कुनै पनि प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि बाध्य पारिने छैन । सम्झौताका क्रममा पछि विभिन्न बुँदाहरूमा विवाद आउन सक्छन् । हाललाई बन्धक रिहाइको प्रक्रियालाई प्राथमिकता दिए पनि भविष्यमा स्थायी शान्तिका लागि भने विभिन्न अवरोधहरू आउन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउँछन् ।
शान्ति प्रक्रियाको मुख्य सर्त नै हमासको निःशस्त्रीकरण भनिएको छ । तर हमासले पहिलेदेखि नै हतियार बिसाउनबाट इन्कार गर्दै आएको छ । एक स्वतन्त्र प्यालेस्टाइन देशको स्थापना नहुँदासम्म हतियार नछाड्ने अडानमा हमास छ ।
सोही कारण पनि हमासको व्यवहारमा कुनै परिवर्तन नआउने आकलन गरिएको छ । यद्यपि ट्रम्पको योजनामा इजरायलले पूर्ण सहमति दिइसकेको छ । इजरायलले हाल गाजाको ५३ प्रतिशत क्षेत्रमा आफ्नो सैन्य नियन्त्रण बनाइराख्ने बताएको छ । ह्वाइट हाउसको योजनाअनुसार अघिल्लो चरणमा सेना केही पछि हट्ने नेतान्याहुले बताएका छन् । अन्तिममा इजरायली सेना गाजाको सीमा नजिकै रहनेछ । गाजाका तर्फबाट इजरायललाई सुरक्षा चुनौती अब हुँदैन भन्ने सुनिश्चित नहुँदासम्म इजरायली सैनिक गाजाको सिमाना नजिक रहिरहने इजरायलले बताएको छ । सम्झौतामा इजरायली सेनाको पूर्ण फिर्ताका बारेमा पनि स्पष्ट उल्लेख छैन ।