- काठमाडौंका मेयर बालेन्द्र्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा र विवेकशील साझाबीच सम्भावित सहकार्यबारे गृहकार्य चल्दै
काठमाडौँ —जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा वैकल्पिक शक्तिहरूलाई कसरी एक ठाउँमा जोड्ने भन्ने विषयमा गुपचुप संवाद हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच सम्भावित सहकार्यबारे गृहकार्य भइरहेको हो ।
चुनावबाट फेरि पुरानै शक्ति उदाए भने जेन–जीको ठूलो बलिदानी व्यर्थ जाने भएकाले वैकल्पिक शक्ति बलियो गरी प्रस्तुत हुनेबारे छलफल चलिरहेको एक नेताले बताए । ‘यस विषयमा सबैलाई एक ठाउँमा जोड्ने बिन्दु के हुन सक्छ भन्ने विषयमा समेत कुराकानी भइरहेको छ,’ ती नेताले भने । उनका अनुसार पूर्वबाट छुट्टै दल घोषणा गरिसकेका धरानका मेयर हर्कराज साम्पाङसँग समेत संवादको ढोका खुलै राखिएको छ ।
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत नयाँ दल गठनको गृहकार्यमा छन् । त्यसका लागि भइरहेका छलफलमा रास्वपा त्यागेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठसमेत सक्रिय सहभागी छिन् । निकटस्थका अनुसार, बस्नेतले ५/६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा २१ फागुनलाई चुनाव घोषणा भएपछि बस्नेतको गृहकार्यले तीव्रता पाएको छ ।
यो पार्टी एक साताभित्रै निर्वाचन आयोगमा दर्ता गर्ने गरी विधान लेखनलगायत काम भइरहेको छ । ‘नयाँ बन्ने पार्टी अहिलेको संविधानलाई मानेर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने किसिमको हुनेछ,’ बस्नेतनिकट एक नेताले भने, ‘केही विषयमा टुंगो लाग्नेबित्तिकै औपचारिक घोषणा हुन्छ ।’ यस पार्टीमा जोड्न विवेकशील साझा पार्टीका केही नेतासँग समेत छलफल भइरहेको उनले जानकारी दिए
रास्वपाले संवादका लागि पुकार बमको नेतृत्वमा समिति बनाएको छ । समितिमा केन्द्रीय सदस्यद्वय गणेश कार्की र ज्वाला संग्रौला सदस्य छन् । ‘आन्दोलनरत जेन–जी, वैकल्पिक शक्ति, नयाँ राजनीतिक दलहरू, स्वतन्त्र अभियन्ता र स्वतन्त्र जनप्रतिनिधि एक ठाउँमा आउनुपर्छ भन्ने भएरै उहाँहरूलाई संवाद गर्न जिम्मेवारी दिइएको हो,’ रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सबै पक्षसँग छलफल गरेर एउटै बृहत्तर अलायन्स बनाउनुपर्छ भन्ने भएपछि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्चस्तरीय समिति पनि बनेको छ ।
रास्वपाका अर्का नेताले पार्टीमा वैकल्पिक शक्तिहरूसँग छलफल गर्न बमको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिँदै त्यसको रिपोर्टिङ उपसभापति वाग्लेलाई हुने बताए । उनका अनुसार टोलीले ऊर्जामन्त्री घिसिङ, काठमाडौंका मेयर बालेन्द्र, धनगढीका मेयर गोपी हमाल, जेन–जी प्रतिनिधिलगायतसँग छलफल गरिरहेको छ ।
रास्वपाले घिसिङलाई नै पार्टीमा ल्याउन बढी जोडबल गरिरहेको छ । घिसिङसँगको संवाद सकारात्मक दिशामा गएको भन्दै समिति संयोजक बमले रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने प्रयास भएका बेला रास्वपा घिसिङको पक्षमा खुलेर उभिएको थियो । संसद्मा पनि रास्वपा नेताहरूले घिसिङका पक्षमा आवाज उठाएका थिए । त्यसयता घिसिङसँग रास्वपा नेताहरू निरन्तर सम्पर्कमा छन् । तर घिसिङ पार्टीमा आएको अवस्थामा भूमिका के हुने भन्ने टुंगो लागिसकेको छैन ।