काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरी जागरण अभियान सञ्चालन गर्ने भएको छ। आइतबार पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानको विस्तृत कार्यक्रम र सुरु हुने स्थानको बारेमा निर्णय हुन बाँकी रहेको जानकारी दिए। उनले यसका लागि छिट्टै अर्को बैठक बस्ने बताए। प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न भएको हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अपेक्षाभन्दा बढी सफल भएको निष्कर्ष बैठकले निकालेको पनि जानकारी दिए।
पुस २३ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई-मधेसको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ गते कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो।