काठमाडौं – कलेज र अफिसको दैनिकीमा व्यस्त रहने २२ वर्षीया रेबिका खत्रीलाई फुर्सदमा घरमा बस्नै मन लाग्दैनथ्यो। चञ्चले स्वभावकी उनी बिदाको दिनमा पनि दाजुभाइ-दिदीबहिनीकहाँ पुगिहाल्थिन्। नेपालमै लोकसेवा वा बैंकिङ क्षेत्रमा भविष्य खोज्ने उनको सपना थियो, विदेश जाने सोच उनले कहिल्यै बनाइनन्। दाजु र दिदी विदेशिँदा पनि उनी आफ्ना सपना स्वदेशमै पूरा गर्ने अठोटमा थिइन्।
स्नातक तेस्रो वर्षमा अध्ययनरत रेबिकाले लेखापालको काम पनि गर्दै थिइन्। उनको सपनाको उडान अझै बाँकी नै थियो।
तर, गत चैत १० गते काठमाडौंको बानेश्वरमा भएको राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेपछि रेबिकाको जीवनले अप्रत्याशित मोड लियो। दुई महिनादेखि उनी अस्पतालको शय्यामा छिन्। शरीरमा लागेको गहिरो चोटले उनको सामान्य दैनिकी र भविष्यका योजनाहरूमाथि प्रश्नचिह्न खडा गरेको छ।
अस्पतालको शय्याबाटै रेबिकाको एउटै पुकार छ, ‘जे भयो भयो, अब बाँच्ने आधार सरकारले बनाइदिओस्।’ उनलाई अब आफ्नो जीवन कसरी अगाडि बढ्छ भन्ने चिन्ताले सताएको छ। एउटी सक्रिय युवाको जीवनमा आएको यो आकस्मिक रोकावटले धेरै प्रश्नहरू जन्माएको छ। उनको उपचार र भविष्यको सुनिश्चितताका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवाज उठेको छ।