Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

घनश्यामले भने -कृषि कम्युन हेरेपछि  दलाल पूँजीपतिबाट पार्टी बचाउन विप्लवबाट सिकौं

२७ आश्विन २०८१, आईतवार १६:५२
जनवाणी संवाददाता

 

२७ असोज, काठमाडौं – नेपालका राजनीतिक दलहरूलाई दलाल पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेत्रविक्रम चन्द विप्लवबाट सिक्नुपर्ने बताएका छन् ।

आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढीमा गरिरहेको सामूहिक धान खेती अवलोकन गर्न पुगेका भुसालले दलहरूले विप्लवबाट सिक्नुपर्ने बताएका हुन् ।

‘पार्टीलाई सामूहिक उत्पादनमार्फत आत्मनिर्भर बनाई चन्दामुक्त बनाउने संकल्पका साथ विप्लवले गरिरहेको सामूहिक खेती प्रणाली नेपालका दलहरूलाई गतिलो पाठ हो,’ भूसालले भने ।

विप्लवको निवास समेत रहेको सो ठाउँमा नेकपाको केन्द्रीय उत्पादन विभागले ५ बिघामा धान खेती गरेको छ । धानसहित सबै खेती लगाउनेदेखि भित्राउनेसम्मका काम पार्टी नेता र कार्यकर्ताले गर्दै कम्युन शैलीको झल्को दिइरहेका छन् । दशैंको टिकाको दिन समेत विप्लवसहित नेता कार्यकर्ताले धान काटेका थिए ।

‘नेपालका राजनीतिक दलहरू र उम्मेदवारले हरेक चुनावमा उद्योगी व्यापारीसँग चन्दा माग्ने, चन्दा लिने र अन्ततोगत्वा दलाल पूँजीपति वर्गकै प्रभाव र नियन्त्रणमा दलहरू पुगेको विडम्वनापूर्ण अवस्था छ’ अनलाइनखबरसग कुरा गर्दै महासचिव भुसालले भने, ‘गणतन्त्रपछि देशले विश्वासिलो लिडरसिप पाएन र दलका नेताहरूप्रतिको वितृष्णा यही कारण हो ।’

नेपालका कम्युनिष्ट पार्टीका नेताहरू अपवाद बाहेक श्रमसँग अलग्गिंदै गएका र विना उद्यम र मेहनत आम जनताको जीवनस्तर भन्दा धेरैमाथि पुगेको विषयले जनस्तरबाट आलोचना खेपिरहेको सन्दर्भमा विप्लवको श्रमप्रतिको लगाव र निरन्तरता, सरलता र सहजता अरु दलका लागि प्रेरणादायी रहेको महासचिव भूसालले टिप्पणी गरे ।

‘विप्लवजीहरूले जनकम्युन शैलीमा सामूहिक खेती गर्नुभएको कुरा समाचारहरूमा पढेको थिएँ, आज आफैं आएर हेर्दा म धेरै प्रभावित भएँ, पार्टीलाई सामूहिक श्रमबाट आत्मनिर्भर बनाउने अभ्यास साँच्चिकै अनुकरणीय छ’ भुसालले भने ।

उनले अगाडि थपे, ‘विप्लवको जीवनशैली, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तरता अरु नेताहरूको भन्दा विल्कूल फरक छ, आडम्बर, बडप्पन विनाको सरलता र सहजताबाट अरु दलका नेताहरूले सिक्न जरुरी छ ।’

विप्लवको पार्टीले गरेको सामूहिक खेती प्रणाली नौलो र आकर्षक सँगसँगै चुनौतीपूर्ण पनि रहेको महासचिव भुसालले औंल्याए । पार्टीको आन्तरिक खपतसम्मका लागि यो अभ्यासमा समस्या नभएपनि व्यवसायिक उत्पादन गरेर बजारमा बिक्री गर्ने हकमा आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताए ।

‘नेपालको बजारमा बर्चश्व रहेको आयातित विदेशी सामानसँग मूल्यमा प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण छ, नेपाली उत्पादनको बजारको सुनिश्चित गर्ने दायित्व राज्यको हो तर गर्न सकिरहेको छैन’ भुसालले भने, ‘यसको पछाडि पनि विदेशबाट सामान आयात गर्ने दलाल पूँजीपति वर्गको प्रभाव र दबाबमा सरकार पर्नु नै हो ।’

श्रमबाट नेता, कार्यकर्ता र पार्टी आत्मनिर्भर बन्नुपर्नेमा विना श्रम, उद्यम नेताहरूको आर्थिक हैसियत अविश्वसनीय रूपमा माथि पुग्नु तर जनताको जीवनस्तर जहाँको त्यहीं हुनु दलाल पूँजीवादकै कारण भएको महासचिव भुसालले जिकिर गरे ।

नेता भुसालको विप्लवसँग भेटमा सामूहिक खेतीका साथसाथै राजनीतिक विषयमा पनि कुरा भएको नेकपा कपिलवस्तुका सेक्रेटरी विनोद सीले जानकारी दिए । ‘हामी दुई पार्टी समाजवादी मोर्चामा सँगै छौं, देशको राजनीति सही दिशामा नगइरहेको अवस्थामा दुई पार्टीका महासचिवबीच राजनीतिक कुराकानी नहुने सवालै भएन’ उनले भने ।

देशैभरी सामूहिक उत्पादन

विप्लव नेतृत्वको नेकपाले सार्वजनिक बाँझो जग्गा र पार्टी नेताहरूकै जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको पार्टीका नेताहरूले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ ।

नेकपाले कपिलवस्तुको शिवगढीसहित अर्घाखाँचीको शीतगंगामा १५० रोपनीमा गाई र कुखुरापालन, तरकारी तथा फलफूल खेती गरेको छ ।

पार्टीका पोलिटब्यूरो सदस्य एवं राप्ती ब्यूरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही उपमहानगरपालिका–१६ गेरुवाको ६ बिघामा कृषि फार्म, आलु र तरकारी खेती गरिएको छ ।

दाङकै बेलझुण्डीमा २५ बिघा भाडामा लिएर खेती गरिएको छ । जसमध्ये ५ बिघामा माछापालन गरिएको छ । यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिकामा १३ रोपनीमा कागती रोपिएको छ भने बर्दियामा धानखेती गरेको छ ।

पार्टीको केन्द्रीय उत्पादन विभागका नेता सन्देश पौडेलका अनुसार चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्षका लागि भाडामा लिएर ६ बिघामा माछापालन गरिएको छ । ५ बिघामा चैते धान र बाँकीमा मकै, तोरी, आलु खेती र मौरी पालन गरिएको छ ।

एक वर्षयता पार्टीले आयोजना गर्ने ठूला–साना कार्यक्रममा खाना र खाजाका लागि अधिकांश वस्तु बजारमा किन्नु नपरेको राप्ती ब्यूरो इन्चार्ज सविनले बताए ।

काठमाडौंमा दुईवटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सफाइ सामग्री उत्पादन गरिरहेको नेकपाले काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको तयारी गरेको छ ।

यस्तै काठमाडौंसहित प्रमुख शहरमा आफ्ना कृषि उत्पादन बिक्रीका लागि मार्ट (ठूला पसल) सञ्चालन गर्ने तयारी गरिरहेको नेता पौडेलले जानकारी दिए ।

पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन गरिरहेको उनले जानकारी दिए । ‘जिल्ला कमिटीसम्मका कम्तीमा तीन सयजना नेता कार्यकर्ताहरू उत्पादन र उद्योगमा प्रत्यक्ष संलग्न छन्, एक्लै भन्दा सामूहिक खेती गर्दा धेरै सहज र आम्दानी पनि बढी हुँदोरहेछ,’ उनले भने ।

जुम्ला र कालीकोटमा १५ सय भन्दा बढी स्याउका बिरुवा रोप्ने अभियानमा महासचिव विप्लव पनि सहभागी भएका थिए । अर्को वर्षसम्म जुम्ला, कालीकोट र आसपासका जिल्लामा २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार बोट स्याउ रोप्ने लक्ष्य नेकपाको छ ।

यस्तै सिलाइ कटाइ, कपाल काट्ने, पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका ५० जना भन्दा बढी कार्यकर्ता सामूहिक रूपमा लागेको सविनले बताए ।

पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्य अनुसार कृषि र उद्योगमा संलग्न भएको राप्ती ब्यूरो इन्चार्ज सविनले बताए । उनका अनुसार जाजरकोट र रुकुमका भूकम्प पीडितलाई पार्टीले उत्पादन गरेको २५ क्विन्टल चामल बाँडेको थियो ।

पार्टीले हरेक वर्षको असार १० देखि ३० गतेसम्मलाई श्रम दिन घोषणा गरेर पार्टीका सबै कार्यक्रम रोकेर व्यक्तिगत, पार्टी र समुदायको खेतमा पुगेर श्रमदान गर्नपर्ने तथा हरेक दुई महिनामा एक दिन श्रम गरेर पारिश्रमिक पार्टीलाई दिनुपर्ने नीति बनाएको छ ।

उत्पादनको ६० प्रतिशत आम्दानी हिस्सा पार्टी केन्द्रमा जान्छ । बाँकी ४० प्रतिशतलाई सय प्रतिशत मानेर ७० प्रतिशत आम्दानी कृषि फार्ममा काम गर्ने नेता कार्यकर्ताले राख्छन् भने ३० प्रतिशत सञ्चालन खर्च राखिने अर्का नेता सन्देशले बताए 

तीन वर्षभित्र देशभर एक हजार बिघामा खाद्यान्न, तरकारी, फलफूल खेती तथा पशुपंक्षी, माछा र मौरीपालन सहितका कृषि उद्यम गर्ने र १० हजार जना नेता कार्यकर्ता उत्पादनमा जोडिने लक्ष्य नेकपाले राखेको छ ।

कृषिको काम सहकारीमार्फत गर्ने उद्देश्यले नेकपाका ३० जना नेता कार्यकर्ता सञ्चालक रहेको जनश्रम कृषि सहकारी संस्था दर्ता गरिएको छ । सामूहिक खेती प्रणाली र उद्योग सञ्चालन अभियानमा थुप्रै युवा र विद्यार्थी जोडिएका नेता पौडलले जानकारी दिए ।

Post navigation

दशैंको अवसरमा नेपाल प्रहरीले निःशुल्क बस चलाउने, हेर्नुहोस् रुटसहित
पछिल्ला ६ वर्षमा नेपालबाट बेचिएका एक हजार ८३४ जनाको उद्धार

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २७ आश्विन २०८१, आईतवार १६:५२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २७ आश्विन २०८१, आईतवार १६:५२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २७ आश्विन २०८१, आईतवार १६:५२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २७ आश्विन २०८१, आईतवार १६:५२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २७ आश्विन २०८१, आईतवार १६:५२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297