काठमाडौँ –  ७ दिने औपचारिक चीन भ्रमणबाट प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना सोमबार स्वदेश फर्किएकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स-हिमालयन फोरममा भाग लिएर सेमबार स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धिमूलक भएको बताएकी छन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन् ।

भ्रमणका क्रममा उनले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स-हिमालयन प्लेटफर्मको महत्त्व रहेको धारणा राखेकी थीइन् ।