काठमाडौं – समाजवादी मोर्चा नेपाल, नागार्जुन नगर कमिटीले नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । सोमबार मोर्चाका नगर संयोजक दिव्य सीको नेतृत्वमा गएको मोर्चाको टोलीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालमार्फत नगरप्रमुख मोहन वहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमति प्रदेश संयोजक माइला सीको विशेष उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत रिजालले छिट्टै बस्ने कार्यपालिका बैठकमा ज्ञापनपज्ञमा उल्लेखित मागहरुका बारेमा छलफल गर्ने बताए । नगरप्रमुख बस्नेत काम विशेष बाहिर भएकाले प्रमुख प्रशासकिय अधिकृत रिजाललाई ज्ञापनपत्र बुझाइएको हो ।
‘नागार्जुन नगरपालिकामा व्याप्त चरम वेथिति, विसंगतीको अन्त्य, भ्रष्टाचार नियन्त्रण एवम् सुशासनका लागि समाजवादी मोर्चाका नेपाल, नागार्जुन नगरसमितिको तर्फबाट नगरप्रमुख समक्ष देहायवमोजिमका मागहरु पेस गर्दछौं ।’, नगर प्रमुखलाई बुझाएको ११ बुँदे ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा अघिल्लो साता गएको बाढी र पहिरोबाट भएको क्षेतिको विवरण संकलन गरि उचित राहत र पुननिर्माणमा जुट्नु पर्ने, सार्वजनिक सम्पत्ति दोहन रोक्नुपर्ने, फोहोरमैलाको सेवा शुल्क घटाउनु पर्ने, करका दरमा पुनरावलोकन गर्नुपर्ने, लागू पदार्थ दूव्यासनी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन् ।
ज्ञापनपत्रपछिको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मोर्चाका बागमती प्रदेश संयोजक माइला सीले ११ बुँदे माग जनताको तर्फबाट बुझाएकाले सम्वेदनशील भएर कार्यान्वयन गर्न आग्रह गरेका छन् । ‘हामीले जनताको तर्फबाट यी माग बुझाएका छौं । तपाईं पनि जनताबाट निर्वाचित भएकाले जनताका मागमा सम्वेदनशील भएर कार्यान्वयन गर्नुहोला ।’, उनले भने, ‘तपाईंले जनतामा मागमा ध्यान दिनुभएन भने यसले ल्याउने आधीवेरीको सामना गर्न तयार भए हुन्छ ।’