काठमाडौँ – मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु गरिएको छ । काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट आज खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।
मेलम्ची खानेपानी वितरण विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसा लामिछानेले सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको ।
मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।
खाने पानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।
वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।
बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।
विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।