काठमाडौँ  – शान्ति सैनिक माथिको इजरायली आक्रमण युरोपेली संघ (इयु) ले ‘पूर्णतया अस्वीकार्य’ भएको बताएको छ

   सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई  इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले  ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन्।

‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्,’ बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ।’

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन्।लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन्।

सन् १९७८ देखि यी सैनिकहरू लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। लेबनान र इजरायलबीचको संयुक्त राष्ट्रद्वारा मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।

लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो।