काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ।

विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विस्तारको काम गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती गरिएको बताए। हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ।

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्।