काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएकाे छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा माओवादीले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न माग गरिएको छ ।
‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी(माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’, ज्ञापनपत्रमामा भनिएको छ ।
१० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।
यस्ता छन् मागहरू
१) वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।
२) जेनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नु पर्छ ।
३) २३–२४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ ।
४) संविधान निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदाय र युवा लगायतका मागहरूलाई समेटेर संविधानको पुनर्लेखन गर्नु पर्छ ।
५) नयाँ संविधान अनुरूप राज्यको पुनर्संरचना गर्नु पर्छ । राज्यको पुनर्संरचना गर्दा अग्राधिकार सहितको समाजवादी सङ्घीय ढाँचामा गरिनुपर्छ ।
६) राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनौट प्रत्यक्ष निर्वाचनद्वारा गर्नुपर्छ ।
७) राज्यले उच्चस्तरीय भूमि आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नुपर्छ । वास्तविक सुकुमवासीलाई वासको सुनिश्चित हुनेगरी जमिन उपलब्ध गराउनु पर्छ ।
८) भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्छ ।
९) भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्छ । उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्छ ।
१०) राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नुपर्छ ।
११) गैर–कानुनी रूपले आर्जन गरेको कालोधनलाई राज्यको मातहत ल्याउन ५ सय र १ हजारका नोटलाई खारेज गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्छ ।
१२) अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भई रहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुसपैठियाहरुलाई कडा कारबाही गर्नुपर्छ ।
१३) नेपाली मौलिक जनसंस्कृतिमाथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्दछ ।