काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।
भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।
नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।
‘यो विल्कुल नयाँ प्रयास हो । उहाँहरूले उम्मेदवारी पनि माग गर्नुभएको थियो । त्यो चाहिँ मिलेन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौं ।’नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई बताउँछिन् ।
‘आ–आफ्नो इमेलमार्फत सबैको युनिक कोड र जीमेलको प्रयोगबाट मतदान गर्नुभएको हो,’ भट्टराईल थप जानकारी दिँदै भनिन् ।
उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् ।