काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री दाहालले पनि त्यसलाई बल पुग्नेगरि पार्टीभित्रका आफ्नो विश्वासिला पात्रहरुसँग ब्रिफिङ गरेको पाईएको छ ।

प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनसँग पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको र उक्त ब्रिफिङमा सरकार ढल्ने कुरा गरेका थिए । प्रधानमन्त्री दाहालले उपमहासचिवद्धयसँग गरेको ब्रिफिङ गरेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘राजनीतिक परिस्थिति अलिक फेरिएको छ, कांग्रेस र एमाले मिलेर सरकार चलाउने सहमति भएको छ । हामी बाहिरिनुपर्ने भयो ।

प्रधानमन्त्री दाहालले आफूहरु सरकार बाहिर हुँदापनि घाटा नहुने र सरकारको नेतृत्व गरुञ्जेल राम्रै काम गरेकोले आगामी निर्वाचनमा माओवादीलाई फाईदा हुने पनि विश्वास दिलाएका थिए ।