काठमाडौँ –  माओवादि अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल  प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र पठाएर २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १ सयको उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।

असार १७ गते राति एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलि लाई प्रधानमन्त्री बनाउने नयाँ समीकरणको सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।