काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा दिनबाट पछि हटेका छन । बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।
‘हामी सहयात्री पनि हौँ । सँगै जानु हाम्रो जिम्मेवारी पनि हो । मैले सदनलाई जवाफ दिन्छु । सदनलाई फेस गर्छु भनेपछि हामी उहाँको संवैधानिक अधिकारलाई सम्मान गर्दै राजीनामा नदिएर फर्किएका छौँ,’ उनले भने ।
रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन पनि आग्रह गरेको परियारले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताएका थिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । सरकार अल्पमतमा भए पनि प्रधानमन्त्रीले राजीनामा नदिने सचिवालयका प्रेस संयोजक गोविन्द आचार्यले बताए । असार २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची नभएको उनले जानकारी दिए
असार १७ गते कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको थियो । यो सहमतिपछि अल्पमतमा परेका प्रचण्डले ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।