काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भए माओवादी एकता कसैले रोक्न नसक्ने बताएका छन्।
नेकपा रास्कोट नगर कमिटीले सहिद सप्ताहको अवसरमा रास्कोटको आरसीपी बजारमा आयोजना गरेको सहिद परिवार तथा बेपत्ता परिवारको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भरत सीले यस्तो बताएका हुन्।
उनले कालिकोट जिल्ला माओवादी एकताको अग्रमोर्चा हुनुपर्नेमा केही माओवादीहरू एकता विरोधी देखिएको टिप्पणी गरे। “कालिकोटमा धेरै माओवादी बिग्रिएका छैनन्, केही थोरै मान्छे बिग्रिएका छन्, तर ती अति बिग्रिएका छन्। तिनै माओवादी एकता विरोधी जस्तै देखिएका छन्,” उनले भनेउनले केही कालिकोटका माओवादीहरू रातदिन प्रार्थना गरेर माओवादी एकता नहोस् भन्नेतिर लागेको आरोप लगाए। “तर रातदिन प्रार्थना गरे पनि माओवादी एकता विप्लव र प्रचण्डले चाहे कसैले रोक्न सक्दैन,” उनले भने।
उनले माओवादीहरूको एकता भ्रष्टाचार दलाल पुँजीवादी व्यवस्थाको संरक्षणका लागि नभई समाजवादका लागि हुने बताए। उनले देशमा दलाल पुँजीवादको समस्या मुख्य भएकाले यो व्यवस्थाबाट सहिदहरूको सपना कुनै पनि हालतमा पूरा नहुने दाबी गरे।
“यहाँ दलाल पुँजीवादको समस्या छ, दलाल पुँजीवादी संविधान व्यवस्था हटाऔँ भन्दा र भ्रष्ट एनसीएलमाथि कारबाही गर्दा प्रतिबन्ध केपी प्रचण्डले लगाए। आज हामीले भनेकै ठाउँमा सबै पुगेका छन्। हामीले कुनै माफी नै माग्ने काम गरेका छैनौँ। माफी जनतालाई झुटो बोल्नेले माग्नुपर्छ,” उनले भने।
नेता भरतले जनयुद्ध र सहिद बेपत्ताहरूको लक्ष्य उद्देश्य पूरा नभएको जिकिर गर्दै सबैले एकीकृत जनक्रान्तिको बाटोबाट लक्ष्य उद्देश्यहरू पूरा गर्नुपर्ने बताए।
कार्यक्रममा स्थायी समिति सदस्य भरतले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै दाँते ओखरका बिरुवा हस्तान्तरण गरेका थिए। नेकपा उत्पादन क्रान्तिमा लागेकाले सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई ओखरको बिरुवा हस्तान्तरण गरेको नेकपाले जनाएको छ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक सीले सहिदको सपना पूरा गर्ने सबैभन्दा बढी दायित्व सहिद परिवारको भएको बताए। उनले सहिद परिवारले पार्टी र नेतालाई सही सुझाव दिनुपर्ने बताए।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले जनयुद्धमा प्रचण्डले गरेको धोकाका कारण सहिदहरूको सपना पूरा नभएको बताए। उनले माओवादी केन्द्र सत्तामा गएर महलमा पुगेको र नेकपाले जनताको क्रान्ति पूरा गर्ने कुरा उठाउँदा प्रतिबन्ध लगाई जेल पठाएको टिप्पणी गरे।
नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य समग्र सी र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले सहिदहरूको सपना अझै पूरा नभएको धारणा राखे। उनीहरूले क्रान्ति छोड्ने र जनतालाई लुट्नेहरूले माओवादी एकता विरोधी कुरा गरिरहेको दाबी गरे।
सहिद विमलको भाइ नयाँ तिरुवा, सहिद कल्पनाको बुवा कालीबहादुर शाहीले माओवादीले झुटो बोल्न नहुने र जनतालाई भनेको काम गर्नुपर्ने सुझाव दिए। उनीहरूले सहिदको सपना पूरा गर्न माओवादीहरूको रूपान्तरणसहित एकता गर्नुपर्ने बताए।
नेकपा रास्कोट नगर कमिटीका इन्चार्ज निर्देशन सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जय सीले गरेका थिए।