काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनबाट आफूहरू विचलित नभएको बताएका छन्। उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको र त्यसैको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने विषयमा छलफल भइरहेको बताए।
“यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले?” उनले भने, “यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ। जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ। त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ। हामी सल्लाह गर्दैछौं।”
प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको बताए।