काठमाडौं – उपत्यका र पहाडी जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। सरकारले यस अवसरमा पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।
फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा मानिसहरूले एकअर्कामा रङ र अबिर दलेर खुसी साटासाट गर्छन्। यसले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकको रूपमा लिइन्छ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वको रूपमा लिइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएर सुरु भएको यो पर्व पूर्णिमाको रात चीर जलाएपछि समापन हुन्छ।