काठमाडौं – रोल्पाको परिवर्तन गाउँपालिका-५, बागमारास्थित रोल्पा नमुना क्याम्पसको विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) ले एकपक्षीय जित हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला विद्यार्थी संगठनहरूको संयुक्त प्यानललाई हराउँदै अखिल (समाजवादी) का उम्मेदवारहरू विजयी भएका हुन्।
चुडामणि केसी नेतृत्वको अखिल (समाजवादी) प्यानलले प्रमुख विद्यार्थी संगठनहरूलाई पराजित गरेको हो। केसीले ७१ मत प्राप्त गरी स्ववियु सभापतिमा जित हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त प्यानलका दीपेन्द्र डाँगीले ४२ मत मात्र प्राप्त गरे। निर्वाचन संयोजक गोपालबहादुर केसीका अनुसार केसी २९ मतको अन्तरले विजयी भएका हुन्।
अखिल (समाजवादी) का टोपबहादुर परियार कोषाध्यक्ष, देवेन्द्र डाँगी सचिव र देवी रिजाल र सीमाना बुढा सदस्यमा विजयी भएका छन्।
१२८ मतदाता रहेको क्याम्पसमा ११७ मत खसेको थियो। स्वतन्त्र उम्मेदवार पृथी केसी र टिकाजङ्ग घर्ती मगरले शून्य मत प्राप्त गरेका थिए।
यो जितले ठूला विद्यार्थी संगठनहरूलाई ठूलो झट्का लागेको छ। तीन ठूला संगठन एकै ठाउँमा हुँदा पनि विप्लव नेतृत्वको विद्यार्थी संगठनको जितले उनीहरूमा हलचल मच्चाएको छ।