
कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुभकालिका गाउँपालिकाको वडा नम्वर ६ हाउडी गाउँका अग्नीपीडित ४ परिवारलाई राहत वितरण गरेको छ ।
नेकपाका नेताहरुले विहिवार स्थानीय सरकारका प्रतिनिधिहरुको रोहबरमा गाउँमै पुगेर अग्नीपीडित ४ घरपरिवारलाई राहत वितरण गरेका हुन ।
नेकपाका केन्द्रीय सदस्य डिआर सी, नेकपाका शुभकालिका इन्चार्ज तुफान सी, जनप्रतिनिधि गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आर्चाय र वडाअध्यक्ष दिप बहादुर शाहीको उपस्थितिमा पीडित परिवारलाई राहत वितरण गरिएको नेकपाले जनाएको छ ।
गएको साउन १५ गते राती ११ बजे विधुत सट भएर एक्कासी आगलागी हुदा हाउडी निवासी रमेश शाही, खड्क वहादुर शाही, विरेन्द्र वहादुर शाही र नरेन्द्र वहादुर शाहीको घरमा करिव ३० लाख वरावरको क्षति पुग्ने गरी आगलागी भएको थियो ।
पीडित घर परिवारहरुलाई वितरण गर्न नेकपा काठमाडौले केही राहत संकलन गरेको थियो । सोही राहत अन्तरगत करिव ६६ हजार बरावरको आफ्नै गार्मेन्टको लत्ताकपडा र केही चामल नेकपाका केन्द्रीय सदस्य डिआर सीले पीडित परिवारलाई हस्तान्तरण गर्नु भयो ।
उहाँले नेकपा पीडित जनताको साथमा रहेको चर्चा गर्दै आगामी दिनमा विधुतीय दुर्घटनाबाट हुने आगलागीमा सचेत रहन सुझाव दिनु भयो ।
उहाँले विधुतीय जोखिबाट बँच्न स्वयम आफै उपभोक्ताले साबधानी अपनाउनु पर्ने र सम्वन्धित निकायले समेत बेला वखत लाईनहरु जाँच गर्नु पर्ने सुझाव दिनु भयो ।
जनप्रतिनिधि तथा गाउँपालिकाका अध्यक्ष आर्चाय, वडाअध्यक्ष शाहीले नेकपाको कार्यप्रति धन्यवाद व्यक्त गर्नु भयो ।
उहाँहरु दुवै जनाले नेकपाको आत्मनिर्भरताको उत्पादन अभियानका कारण आफ्नै गार्मेन्टको कपडा पीडित परिवारलाई दिएकोमा खुसी व्यक्त गर्दै नेकपा जस्तै उत्पादनमा लागे समाजवादी व्यवस्था टाढा नहुने बताउनु भएको थियो ।
पीडित परिवारले थोरै भएपनि नेकपाले आफुहरुको दुखमा साथ दिएको भन्दै खुसी हुदै पार्टीलाई आभार सहित धन्यवाद दिएका छन ।