काठमाडौँ – सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा आगामी असारमा हुने पार्टीको दशौँ महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धनको साथ नछोड्ने भएका छन् । आगामी असारमा हुने महाधिवेशनमा छलफल गरेर गठबन्धनमा रहने वा नरहने भन्ने ठोस निर्णय गर्ने अध्यक्ष नेपालको भनाइ छ ।
केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी मोर्चाको बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टी दुई डुङ्गामा खुट्टा राख्ने पक्षमा नरहेको स्पष्ट पारे । मधेस प्रदेश सरकारमा आफ्नो पार्टीको निरन्तरता अघिल्लो गठबन्धन अनुसार नै भएकाले त्यसबारे तत्कालै निर्णय गरेर नयाँ गठबन्धनलाई साथ दिने तयारीमा रहेको सङ्केत आइतबार आयोजित पत्रकार सम्मेलनमा दिए ।
‘हामी दुईवटा डुङ्गामा खुट्टा राखेर हिँड्दैनौँ,’अध्यक्ष नेपालको भनाइ छ । सत्ता साझेदार एमालेका नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाल अलमलमा परेको र गन्तव्य स्पष्ट नभएको बताउँदै आएका बेला नेता नेपालको प्रस्टीकरण स्वरूप यस्तो भनाई आएको हो । अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहितका प्रतिपक्ष दलका नेताहरूसँगको आफ्नो भेटलाई लिएर प्रचण्ड र ओलीलाई नआत्तिन पनि आग्रह गरे । उनले आफ्नो नेतृत्वको पार्टी राजनीतिको महत्त्वपूर्ण घटक भएको भन्दै सबै नेताहरूसँग छलफल गर्नु स्वाभाविक रहेको सुनाए
‘सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउँछन्,’ उनले भने । अध्यक्ष नेपालले सरकार र सत्तापक्षमा कुनै असमझदारी नहोस् भनेर विपक्षी मोर्चाको बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको नेपालको भनाइ छ । ‘हामी एउटा महत्त्वपूर्ण राजनीति घटक भएको हुनाले हामी त्यो (बूढानीलकण्ठ) बैठकमा सहभागी भयौँ । सबैले सबै नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन,’ पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘त्यही सिलसिलामा मैले असमझदारी नहोस् भनेर प्रधानमन्त्रीलाई फोन पनि गरेँ । उहाँले भन्नुभयो – ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर ‘कमिटमेन्ट’ फाइनल नगरिदिनु।