जनवाणी सम्बाददाता
 बुधबार, जेष्ठ ३० २०८१

काठमाडौं – त्रिभूवन विश्वविद्यालयमा परीक्षा नियन्त्रक पुष्पराज जोशीले निजी कलेज संचालकसँग मोटो रकम लिएर अस्वभाविक रुपमा परीक्षा केन्द्रहरु परिवर्तन गरेको आरोप लागेको छ । आजबाट सुरु भएको बि.बि.एस चौथो बर्षको परीक्षाका लागि परीक्षा केन्द्रहरुको नियमित सूची सार्वजनिक भएको २४ घण्टापछि जोशीले अस्वभाविक रुपमा परीक्षा केन्द्रहरुको अर्को सूची सार्वजनिक गरेपछि यस्तो आरोप लागेको हो 

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ४ बर्षे स्नातक तह बि.बि.एस चौथो बर्ष २०८० नियमित तर्फको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका केन्द्रहरुको सूची जेठ २७ गते सार्वजनिक गरेको थियो । उक्त सूचीमा २ सय २१ वटा विद्यालयका विद्यार्थी सहभागी हुने र २२ वटा केन्द्रहरु रहने उल्लेख थियो । यो सूची सार्वजनिक भएपछि शैक्षिक माफियाहरुको धोड्धुप सुरु भयो । जसकारण २४ घण्टा नपुग्दै कार्यालयले परीक्षा केन्द्र यतावत राख्दै केही कलेजहरुले सेन्टर परिवर्तन गरेर अर्को सूची सार्वजनिक गर्यो ।

जुन सूचीमा ५ वटा कलेजहरु थपिएका छन् भने एउटा कलेज सूचीबाट हटाइएको छ । आजविहान ७ बजेदेखि सुरु भएको परीक्षामा २ सय २५ वटा क्याम्पसमा अध्ययनतर विद्यार्थीको सहभागिता रहेको छ । छुटेका ५ वटा क्याम्पस अर्को सूचीमा समावेस हुनु र विद्यार्थी नै नभएको अर्को क्याम्पस सूचीबाट हराउन सामान्य विषय भएपनि अघिल्लो सूचीमा समावेस भएका क्याम्पसको परीक्षा केन्द्र परिवर्तन हुनु असामान्य विषय हो 

चावहिलको विनायक सिद्ध कलेज र सुकेधाराको ब्रुकलिन कलेजको सेन्टर अस्वभाविक रुपमा परिवर्तन भएपछि परीक्षा नियन्त्रकमाथि गम्भीर प्रश्न उठेको छ । विनायक सिद्ध कलेजको सेन्टर पहिलो सूचीमा लुम्विनी कलेजमा राखिएको थियो । विनायकको बि.बि.एस दोश्रो बर्षको परीक्षा केन्द्र पनि लुम्बिनीमा नै परेको थियो । उक्त परीक्षामा विनायक कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडाले खुकुलो गर्न कलेज प्रशासनलाई अनुराेध गरेका थिए । उनकाे अनुराेधलाई कलेज प्रशासनले अस्विकार गरेपछि चिढिएका थिए । फेरी पनि लुम्बिनीमा केन्द्र पर्दा परीक्षा टाइट हुने डरले उनले रातारात केन्द्र सार्न चलखेल गरेका हुन् ।

लुम्बिनीमा आफूले सोचेजस्तो सेटिङ गर्न नपाएपछि विनायक सिद्धी कलेजका प्रिन्सिपल राककृष्ण सिमखाडाले रातारात परीक्षा नियन्त्रक जोशीलाई सम्पर्क गरी सेटिङ मिलाएको श्रोतको दावि छ । यसअघि विनायक सिद्ध कलेजमा सेन्टर परेको बु्रकलिनको पुस्पलाल मेमोरियल कलेजमा परिवर्तन भएको छ भने विनायक सिद्धको बु्रकलिनमा परेको छ । रमाइलो कुरा के छ भने फेरी पुस्पलालको सेन्टर विनायक सिद्धी कलेजमा परेको छ ।

‘विनायकले पुप्पलालका विद्यार्थीको परीक्षामा कडा नगर्ने, बु्रकलिनले विनायकमा विद्यार्थीको परीक्षा खुकुलो गरिदिने र पुस्पलालले बु्रकलिनका विद्यार्थीलाई सहजिकरण गरिदिने भद्र सम्झौता भएको छ ।’, श्रोतले भन्यो, ‘यो परीक्षा नियन्त्रक पुष्पराज जाृेशीको भ्रष्ट चरित्र र विनायक कलेजका प्रिन्सिपल रामकृष्ण सिमखाडाको सेटिङका कारण सम्भव भएको हो । यस्तो सेटिङ गर्नमा सिमखाडा च्याम्पियन छन् ।’

सिमखाडाले भने कुनै सेटिङमा परीक्षा केन्द्र परिवर्तन नभएको बताए । ‘यो परीक्षा केन्द्रहरुको छनोट गर्ने जिम्मा त्रिविको हो । हामीलाई यसबारेमा केही थाहा हुँदैन ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनले भने, ‘हाम्रो मात्र परिवर्तन भएको छैन, मलाई लाग्छ २०/२५ वटा कलेजको सेन्टर परिवर्तन भएको हुनसक्छ । यो त सेन्टरको क्षमता र विद्यार्थी संख्याका आधारमा परिवर्तन भएको हुनसक्छ ।’ यता परीक्षा नियन्त्रक जोशीले भने यस विषयमा केही पनि बोल्न चाहेनन् । विगत ८ बर्षदेखि जोशी परीक्षा नियन्त्रकका रुपमा कार्यरत छन् ।