काठमाडौँ _नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लाको अधिवेशनले पार्टी पङ्क्तिलाई निकै उत्साहित बनाएको बताए ।
शुक्रबार एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताए । उनले एकआपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसात् गरेर पार्टी कमिटीलाई चलायमान बनाउनुपर्ने बताए ।
यस्तै पोलिटब्युरो सदस्य लीला गिरिले एमालेका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । उनले पार्टीका नेता र एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच तालमेल हुनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्कीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए।