चितवन पुगेर माफि मागे नारायणकाजीले
काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा माओवादीले सोमबारदेखि सुरू गरेको जनतासँग माओवादी कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनाप्रति माफी मागेका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताए।
‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै। त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु,’ श्रेष्ठले भने, ‘मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो। सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ। जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’
उनले यस्तो कार्यक्रममले माओवादीको जागरण अभियानमा कुनै असर नपर्ने पनि बताए।