बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाएको नयाँ करको प्रतिक्रियास्वरूप चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत चीन जुनसुकै प्रकारको युद्धका लागि तयार रहेको बताएको छ।
“चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं,” दूतावासले आफ्नो पोस्टमा उल्लेख गरेको छ।
ट्रम्पले मंगलबारदेखि चीनबाट आयात हुने सामानमा १० प्रतिशत नयाँ कर लगाएका छन्। यसअघि फेब्रुअरीको सुरुमा पनि उनले यस्तै कर लगाएका थिए। केही दिनभित्रै अमेरिकाले चिनियाँ सामानमा २० प्रतिशत कर लगाएको छ।
ट्रम्पको कदमको जवाफमा चीनले पनि अमेरिकाबाट आयात हुने कृषि उत्पादनमा १० देखि १५ प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ। चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता उत्पादनको सबैभन्दा ठूलो बजार हो।
यो घटनाले दुई देशबीचको व्यापारिक तनाव थप बढेको संकेत गरेको छ।