काठमाडौं – समाजवादी मोर्चा नेपालले राजतन्त्र पुन:स्थापनाको प्रयासविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली विशेषताको समाजवादको दिशामा अघि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार भएको जनाएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै प्रतिगामी तत्वहरूले राजतन्त्र पुन:स्थापनाको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। मोर्चाले यस षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनसहित जनसभा गर्ने घोषणा गरेको छ।
मोर्चाले सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार, कमिशन र कालोबजारीका कारण देश संकटग्रस्त अवस्थामा पुगेको दाबी गरेको छ। मोर्चाले अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र महत्वपूर्ण विधेयकहरू नियन्त्रणमा राख्ने सरकारको रवैयाको पनि विरोध गरेको छ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।