काठमाडौं – नेकपा (माओवादी केन्द्र) भक्तपुरमा आयोजित एक प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा तीनवटा धारहरू रहेको र आफ्नो पार्टीले अग्रगामी धारको नेतृत्व गरिरहेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मौका पाउने बित्तिकै प्रतिगामी धारमा मिल्न सक्ने खतरा औंल्याए।
माओवादीकै कारण राजसंस्थाको अन्त्य भएको दाबी गर्दै उनले माओवादी कमजोर भए राजसंस्था पुनः फर्कन सक्ने चेतावनी दिए। उनले समाजवादी धारमा रहेका नेता कार्यकर्ताहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गरे। राजावादीहरूको आन्दोलनलाई अवसरको रूपमा लिँदै गणतन्त्रलाई संस्थागत गरी समाजवादतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
चैत १५ गते हुने जनप्रदर्शन पूर्व निर्धारित कार्यक्रम भएको स्पष्ट पार्दै प्रचण्डले प्रतिगामी शक्ति र वर्तमान सरकारको भ्रष्ट गतिविधिविरुद्ध जनशक्ति परिचालन गरिने बताए। भक्तपुरको राजनीतिमा टिप्पणी गर्दै उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’को आलोचना गरे र माओवादीप्रति जनताको आकर्षण बढेको दाबी गरे। उनले कार्यकर्ताहरूलाई गाउँ-गाउँमा संगठन बलियो बनाउन निर्देशन दिए। कार्यक्रममा पार्टीका सचिव हितमान शाक्य, केन्द्रीय सदस्यहरू लगायत स्थानीय नेताहरूको उपस्थिति थियो।