कालीकोट – कालीकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सुर्खेतबाट जुम्ला जाँदै गरेको स्कार्पियो सोमबार दिउँसो मान्ममा दुर्घटना हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकसहित ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डमा पर्ने खाँडाचक्र-१ स्थित होटल हिलसाइडनजिक कर्णाली प्रदेश ०२००१ ज ०६३७ नं. को स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुबी थापालगायत घाइते भएका छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका २९ घर भएकी थापाको दाहिने करङ्गमा चोट लागेका छ । थापालाई थप उपचारका लागि हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ
घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका-५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका-२ की २२ वर्षीया अन्जना धामी, मुगु कार्मारोम गाउँपालिका-२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ घाइते छन्।
त्यस्तै, बाँके कोहलपुर नगरपालिका-८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका-१ का ४५ वर्षीया कल्पना नेपाल आचार्य र दोलखा गौरीशंकर गाउँपालिका-१ का ३० वर्षीय हिक्मत जिरेल घाइते छन् । अन्य घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको जिल्ला अस्पताल कालीकोटका डा. जीवन पाण्डेले जानकारी दिए।